कांग्रेसप्रति जनताको निराशा बढ्यो, पार्टीलाई सुधार गर्नुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् । उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको थापाको भनाइ छ । उनले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।
उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए ।