केएमसी अस्पतालले भित्र्यायो नेपालमै पहिलो पटक ६४ च्यानलको थ्री तेस्ला एमआरआई
काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको छ । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा रहेका बेला केएमसीमा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याइएको हो ।
केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रको दावी अनुसार नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा ल्याएको उनले बताए । यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो मिश्रले भने।
बढी क्षमता भएकाले यो एमआरआई छिटो र स्तरीय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, अन्य मेसिनले ३० मिनेट लगाउँने बिरामीलाई यो मेसिनले करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउँन सकिने रेडियोलोजी बिभागका इन्चार्ज मिश्रले भने ।
जर्मनमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो । अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएर अन्यत्रको तुलनामा सस्तो दरमा सेवा उपलब्ध गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् ।