नबिल बैंकको दिगो घर कर्जा योजना सार्वजनिक
काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने उनको विश्वास थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा स्पष्ट पारेका थिए ।
बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले यो योजना एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल र स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको पनि उपस्थिति रहेको थियो । नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।
सात वर्ष भन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चातको आधार दरमा १ दशमलब ५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइनेछ । बैंकका अनुसार यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने बैंकले जनाएको छ ।