१ करोड १६ लाख पर्ने हुन्डाई आयोनिक अब १ करोड ३ लाखमै


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधनमा कर घटाएपछि कम्पनीहरुले गाडीको मूल्य घटाएका छन् । हुन्डाईको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक फाइभको मूल्य घटाएको छ । सरकारले यसअघि १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत भन्सार महशुल लाग्ने बनाएको थियो । तर, यो वर्ष घटाएर २० प्रतिशतमात्रै कायम गरेको छ । साथै, सरकारले अन्तशुल्क पनि घटाएको छ । सरकारले ३० प्रतिशत लाग्दै आएको अन्तशुल्क घटाएर २० प्रतिशत कायम गरेको छ । जसले गर्दा गाडीको मूल्य घटेको हो । कम्पनीले बजेट घोषणा हुनु अघिसम्म १ करोड १६ लाख रुपैयाँमा बिक्री गरेको थियो । तर, बजेट घोषणामा कर घटाएपछि कम्पनीले १३ लाख रुपैयाँसम्म मूल्य घटेको कम्पनीका निर्देशक निराकर श्रेष्ठले बताए । कम्पनीसँग अहिले १८ वटा गाडीहरु उपलब्ध छन् ।

उक्त सम्पूर्ण गाडीहरुको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता आएको उनले बताए । त्यस्तै, अब आइकोनिक फाइभको गाडी अब १ करोड ३ लाख रुपैयाँमा पाउने उनले जानकारी दिए । ‘कम्पनीहरुले बजेट आउनुअघि गाडीहरु भित्र्याएका थिए । उक्त भित्रिएका गाडीहरु महंगो भन्सार तिरेर ल्याएका थिए । तर, ग्राहकलाई बिक्री गर्दा महंगो भन्सार तिरेर ल्याएको हो भनेर बेच्न मिल्दैन । ‘त्यसैले कम्पनीले आयोनिक फाइभको मूल्य घटाएको हो । श्रेष्ठका अनुसार कम्पनीले एउटै गाडीमा उच्च मूल्य घटाएर बेच्दा नाफा पनि नबस्ने भएको छ । साथै, कम्पनीले अब नयाँ लट आएपछि मात्रै नाफा कमाउन सक्ने उनको भनाइ छ । हुन्डाई आयोनिक गाडी १२५ किलोवाट क्षमताको मोटर क्षमताको हो ।

त्यस्तै, कम्पनीको कोना ब्रान्डको विद्युतीय गाडीको मूल्य भने बढ्ने भएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीको आयातमा भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाएको छ । भन्सार दर बढाएपछि कम्पनीले नयाँ आउने गाडीको मूल्य बढेर आउने उनको भनाइ छ । तर, बजेटअघि बुकिङ भइसकेको गाडीको मूल्य भने नबढ्ने उनले बताए । कम्पनीसँग अहिले कोना ब्रान्डको करिब ७० वटा गाडी उपलब्ध छन् । ग्राहकहरुले पुरानो नै मूल्यमा कोना ब्रान्डको गाडी खरिद गर्न सक्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *