कृषिप्रधान देश भनेर भाषण गर्ने सांसदले राँगा स्वीकार गर्न सक्दैँनन् !
काठमाडौं । प्रतिनिधिसभामा जनताले कस्ता कस्ता सांसदलाई चुनेर पठाएका रहेछन् भन्ने कुरा सोमबारको संसद् बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका सांसदहरूले दिएको अभिव्यक्तिले पुष्टि गर्छ ।
नेपाल कृषिप्रधान मुलुक हो । नेपालको कूल जिडीपीको ६० प्रतिशतभन्दा बढी कृषि क्षेत्रकै देन छ । सबैले स्वीकार गरेका तथ्य हो यो । सहरमा बसेका केहीबाहेक सबै नेपाली जनता कहीँ न कहीँ कृषि पेसामा आबद्ध भएका छन् । अहिले संसदमा ठूल्ठूला र चर्को भाषण गर्ने सांसदहरूका बाबुआमा पनि गाउँमा खेतीकिसानी नै गरेका होलान् । तर भारतले अनुदानमा दिन लागेको १५ वटा मुर्रा राँगाको विषयले संसदमा कोकोहोलो मच्चाएको छ ।
एमाले, रास्वपा र राप्रपाका सांसदहरूले राँगाको विषयमा बोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुर्मत लिए । कतिसम्म भने भैंसी शब्दलाई सभामुखले संसदको रेकर्डबाट हटाउन लगाए । नेपाल सरकारले सात वर्षअघि गरेको अनुरोधलाई ध्यान दिँदै भारतले राँगा उपलव्ध गराएको हो । तर राँगा उपहार ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि सामाजिक सञ्जाल र संसदमा तीव्र व्यंग्य गरिएको छ । यसबाट भैंसीपालन व्यवसायको महत्व नबुझेको थाहा हुन्छ । सामान्य चेतनासमेत नभएका व्यक्तिहरू फोस्रा नारा दिएर संसदमा पुगेका कारण मुलुकको आर्थिक समृद्धि अझै टाढा छ भन्ने कुरा यो प्रकरणले पुष्टि गर्छ ।
नेपालको कुल ग्रार्हस्थ उत्पादनमा भैंसीपालन क्षेत्रको योगदान करिब ६ प्रतिशत मानिन्छ । नेपालमा पालिएका कुल भैंसी संख्यामध्ये ३० प्रतिशत मात्र उन्नत जातका छन् । उन्नत जातका भैंसीको संख्या शतप्रतिशत पु¥याउने हो भने नेपालको आर्थिक समृद्धि टाढा छैन । भारतले अहिले उपहारमा दिएका राँगाहरूको सही सदुपयोग गर्ने हो भने १० वर्षभित्र नेपालका प्रायः सबै भैंसीहरूको नश्ल सुधार गर्न सकिन्छ ।
नेपालका परम्परागत स्थानीय भैंसीहरूले एक वर्षमा तीन सय दिन दूध दिन्छन् । यो अवधिमा एउटा भैंसीबाट करिब नौ सय लिटर दूध उत्पादन हुन्छ । नेपालका स्थानीय जातका भैंसीको औषत तौल तीन सय केजी हुन्छ । आफ्नो जीवनकालभरि सात आठ बेत ब्याउँछन् । तर भारतको पंजाब र हरियाणामा उत्पत्ति भएको मुर्रा जातको भैंसीले वर्षमा ३१० दिन दूध दिन्छन् । यो अवधिमा एउटा भैंसीले २५ सय लिटर दूध दिन्छ । मुर्रा जातको भैंसीको औषत तौल ६ सय केजी हुन्छ ।
सरदर १२ बेतसम्म ब्याउँछ । मुर्रा भैंसीको दूधमा औसत चिल्लो पदार्थ सात प्रतिशत र एसएनएफ १० देखि १२ प्रतिशतसम्म, प्रोटिन ४ दशमलव ५ प्रतिशत र ल्याक्टोज ४ दशमलव ८ प्रतिशत पाइन्छ । यसरी तुलना गर्दा स्थानीय जातको भैंसीपालनभन्दा मुर्रा जातको भैंसी पालनमा दोब्बर फाइदा हुने प्रष्ट छ । भैंसीपालक किसानहरूको भइरहेको आम्दानीमा दोब्बर वृद्धि गर्ने प्रयास अघि बढ्नुलाई सामान्य रूपमा लिन मिल्दैन ।
नेपालमा पहिलेदेखि मुर्रा जातका राँगा बिचबिखा हुँदै आएको छ । तर यसलाई एमाले, रास्वपा, राप्रपाका सांसदले बुझेनन् । नेपालमा बिराला, कुकुर विदेशबाट ल्याइँदै आएको छ । तर पशुपालनमा क्रान्ति नै हुने मुर्रा राँगालाई लिएर संसदमा कोकोहोलो मच्चाउनुले यी दलबाट देशको विकास हुन्छ भन्ने ठान्नु मूर्खतासिवाय केही होइन ।

















