भुटानी शरणार्थी प्रकरण : खाँणलाई भेट्न मन्त्रीदेखि कांग्रेसका पदाधिकारी कारागारमा

काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा पठाएको हो । अदालतले उनलाई धरौटीमा नछाडेकाले अब थुनामै रहेर मुद्दा लड्नुपर्ने भएको छ ।

एक महिनाअघि पक्राउ परेका खाँण यतिबेला राजनीतिबाट पूर्णतः टाढिएका छन् । खाँणले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका छन् । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि उनीसँग बयान लिइरहेको र थुनछेकको बहस नसकिएकाले कांग्रेसका कुनै पनि नेताले खाँणलाई भेटेका थिएनन् । तर आफू जेलमा रहँदा पनि कोही भेट्न नआएकोमा उनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार बिहीबार बिहान १० बजे परराष्ट्रमन्त्री एनपी साउद पूर्वगृहमन्त्री खाँणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका थिए ।

करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बताएको छ । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइन्छ । बिहीबारै कांग्रेस सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् ।

खाँणले आफूलाई फसाइए पनि पार्टी नेतृत्वले कुनै सहयोग नगरेको गुनासो गरेको बुझिएको छ । आफ्नो राजनीति सिध्याउनकै लागि शक्तिकेन्द्र लाग्दा पनि पार्टीका नेताहरूले उल्टै आफूलाई खेदिरहेको उनको भनाइ थियो । स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै सल्लाहअनुसार मन्त्री साउद खाँणलाई भेट्न कारागार पुगेका हुन् ।

देउवा आफ्नो स्वास्थ्य उपचार गर्न सिंगापुरमा छन् । उनी शुक्रबार आउने भनिए पनि समयको टुंगो लागेको छैन । पार्टीमा खाँणलाई केन्द्रीय सदस्यबाट तत्कालका लागि निलम्बन गर्न आवाज उठिरहेकाले यस विषयमा उनको धारणा बुझ्न साउद कारागार पुगेको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *