सात दलको निष्कर्ष : प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने , विपक्षी दल नेकपाको कदम असंसदीय रहेको ठहर
काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको थियो र अवरोध मात्र नभई, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ उनले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो ।
सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएको झैँ देखिन्छ । कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ ९प्रितम सिंह० राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’ यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गरेको थियो ।
आजको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु रहेका छन् ।