प्रधानमन्त्रीको आग्रहमा सभामुखले दिउँसो ३ बजेका लागि सारे प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घन्टा पछाडि सारेका हुन् ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंहले पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले चार दिनदेखि दुवै सदनमा अवरोध गर्दै आएको छ ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ । छलफल चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई फोन गरेर बैठक सार्न आग्रह गरेका हुन् । सभामुखले बाहिर सहमति नगरी संसद् बैठक बस्नुको कुनै औचित्य नभएको भन्दै सत्ता पक्षलाई दबाब दिएका छन् ।

एमाले भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हटेको छैन । एमालेकै विरोधका कारण आइतबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदको अवरोध हटाउने विषयमा पहल लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *