गठबन्धनको निर्णय : माओवादी र समाजवादीको लगभग बराबर सिट
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ ।
उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एकरएक महानगर प्रमुख पाएका छन् । माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ । त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एकरएक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ । काठमाडौंमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ । घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउदा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ । त्यस्तै उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सीट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ ।
माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा(एकीकृत समाजवादीमा) २२ जना सांसद रहेका छन् ।