ज्योति विकास बैंकद्धारा सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक,एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२।०८३ को अन्तिम त्रैमासमा आफ्नो इतिहासकै सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक गर्दै आफूलाई एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ९०५ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्षको वितरणयोग्य मुनाफाको ठूलो घाटाबाट फड्को मार्दै चालु आर्थिक वर्षमा दीगो नाफामूलक अवस्थामा फर्किएको हो । यो उपलब्धिलाई प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बरालको नेतृत्वमा भएको रणनीतिक सुधारको प्रत्यक्ष प्रतिफलको रूपमा हेरिएको छ । बैंकले गत आवमा १ अर्ब ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आव २०८१।८२ मा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र निष्क्रिय कर्जाको अब्बल व्यवस्थापनबाट भएको प्रोभिजन फिर्ताका कारण नाफा बढ्न पुगेको देखिन्छ । अघिल्लो आवमा ९९ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंकले गएको एकै आर्थिक वर्षमा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ र जसका कारण उक्त सञ्चित नोक्सानीबाट बैंक १४ करोड ४३ लाख रुपैयाँ लाभांश बाँड्न सक्ने अवस्थामा पुगेको छ । प्रोभिजन फिर्ता बाहेक बैंकको नाफा बढ्नुमा अन्य तीन कारण पनि रहेको छ । इन्डस्ट्रीको औसत भन्दा बढीले कर्जा विस्तार र स्प्रेड रेटमा समेत सुधार गर्दा बैंकको खुद ब्याज आम्दानीमा सुधार भएको छ भने फि तथा कमीसन आम्दानीमा पनि सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानीमा करिब २५ करोड रुपैयाँले बढेको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत आवमा बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै फि तथा कमिसन आम्दानी १६ करोड २९ लाख रुपैयाँबाट ७५ प्रतिशतले बढेर २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकले अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थाका लागि ८७ करोड ८५ लाख रुपैयाँ थप गर्नु परेको थियो । तर, गत आवमा बैंकले ३० करोड १२ लाख रुपैयाँ प्रोभिजनबाट फिर्ता गर्न सफल भएको छ ।

निष्क्रिय कर्जामा सुधारसँगै बैंकले प्रोभिजन रिभर्स गर्दा नाफामा सुधार भएको हो । बैंकले निष्क्रिय कर्जा अनुपात ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कोषको लागत ४.९९ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा मा झरेको छ । बैंकको स्प्रेड रेट ३.९६ प्रतिशतबाट बढेर ४.१५ प्रतिशत पुगेको छ । बैंकले निक्षेप र कर्जा दुबैमा सुधार गरेको छ । बैंकको ग्राहकहरुबाट संकलित निक्षेप ११.१६ प्रतिशतले बढेर ६७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहकहरुमा प्रवाह गरिएको कर्जा ९.६१ प्रतिशतले बढेर ४९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार आएको छ। गत वर्ष २.२८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर अहिले २२.८८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८२ गुणा छ । बैंकको पुँजी कोष अनुपात १४.०५ प्रतिशत र सीडी रेसियो ८१.०७ प्रतिशत रहेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताबीच बैंक व्यवस्थापनले रिकभरीमा प्राथमिकता दिँदा बैंकको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो । प्राथमिक पुँजीकोषमा दबाब देखिएकोमा बैंकको व्यवस्थापनले रिकभरीमा उल्लेख्य सुधार हुँदा पुँजीकोषमा समेत सुधा देखिएको छ । यसले आगामी दिनमा बैंकलाई व्यवसाय विस्तार गर्न समेत पर्याप्त स्पेस दिएको छ । अघिल्लो आबमा ८.५४ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष ९.५७ प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *