प्रधानमन्त्री प्रचण्ड शोकमा परेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा परेकाले राजनीतिक औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने जानकारी गराएको छ ।

समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने सचिवालयले जनाएको छ । श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्नेबाहेक अरु कार्यक्रम स्थगित गरिएको छ ।

त्यसैले अब औपचारिक कार्यक्रममा सहभागी नहुने र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत प्रचण्ड जाने छैनन् ।

मंगलबार मात्र सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको थियो। मंगलबार बसेको संसदीय दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष राउतले जानकारी दिएका थिए ।

तर, प्रधानमन्त्री शोकमा रहेकाले मन्त्रिपरिषद्ु पुनर्गठन पनि रोकिएको छ । जनमतले यसअघि अब्दुल खानलाई खानेपानी मन्त्री बनाएको थियो । तर बीचमा उसले आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको थियो । अब भने जनमतले पर्यटन वा सामान्य प्रशासनमध्ये एउटा मन्त्रालय पाउने बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *