माइतीघर मण्डलामा आन्दोलन गर्दैमा बचत फिर्ता पाइन्छ ?

काठमाडौं । पछिल्लो समय सहकारी संघसंस्थाको समस्या कुनै महामारीझैं भइसकेको छ । आमसर्वसाधारण सहकारीको विरोधमा घरदेखि सडकसम्म आइपुगेका छन् ।

विगत दुई वर्षदेखि सहकारीले आफ्नो बचत फिर्ता नगरेको उनीहरूको गुनासो छ । सहकारीकै कारण कति बचतकर्ता गर्नुपर्ने अवस्थामा पुगेका छन् त कति अस्पताल भर्ना भएका छन् ।

सहकारी पीडित बचतकर्ताहरूमाथि दिनप्रतिदिन पीडामाथि पीडा नै थपिएको छ । घाम न पानी भनी उनीहरू दुई महिनादेखि आन्दोलनरत छन् । तर, उनीहरूको आवाज कसले सुनिदिने ? सरकार न बचत फिर्ता नगर्ने सहकारीलाई कारबाही गर्छ, न बचत फिर्ता गराइदिन नै पहल गरिदिन्छ ।

त्यसैले, अहिले बचतकर्ताहरू आफैंले नयाँ जुक्ति निकालेका छन् । उनीहरू भन्छन्, ‘हामीले यत्रो गर्दा पनि हाम्रो बचत फिर्ता पाएनौं । न त कसैले हाम्रो आवाज नै सुनिदियो । त्यसैले, अब हामी आफैं आफ्नो बचत लिन कदम चाल्नेछौं ।’ अब सहकारीका सञ्चालक र कर्मचारीको घर खोजीखोजी आफ्नो बचत फिर्ता लिने उनीहरूको भनाइ छ । कुनै पनि सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी भेटेमा बाटोमै कालोमोसो दलेर जुत्ताको माला लगाउने पनि उनीहरू बताउँछन् । सहकारीमा बाटोमा साग बेच्नेदेखि अरुको घरमा भाडा माझेर कमाएको पैसा राखेका थिए ।

यति मात्र नभई आफ्नो र आफ्नो बाबुबाजेको पुख्र्यौली सम्पत्ति बेचेर, वैदेशिक रोजगारीमा गएर कमाएको रकमसमेत मानिसहरूले सहकारीमा राखेका थिए । तर, जीवनभर मिहिनेत गरेर खाइनखाइ राखेको रकम सहकारीले खाइदिएपछि अहिले बचतकर्ताहरू आवेगमा आएका छन् ।

सरकारले अहिलेसम्म सहकारीका सञ्चालकलाई समात्न सकेको छैन । सहकारी सञ्चालकको अगाडि सरकारी निरीह बनेको छ । राजनीतिक दलहरू पनि सहकारीको ठगीधन्दाबारे बोल्दैनन् । जसबाट सहकारी सञ्चालन गर्नेहरू यिनै दलको सदस्य भएको पनि स्पष्ट हुन्छ ।

मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारी संघसंस्थामा करोडौं बचतकर्ताले जम्मा गरेको २२ खर्ब बढी रकम सहकारीले खाइदिएको छ । आज हरेकको घरमा रुवाबासी चलेको छ । कसैको घरपरिवार तहसनहस भएको छ त कति अर्बपतिबाट रोडपतिमा झरेका छन् । सहकारीले नै पैसा खाइदिँदा अधिकांश लाग्ने–स्वास्नीको पनि सम्बन्धविच्छेद भएको छ ।
सहकारीमा बचत गर्नेमध्ये कति टाठाबाठाले त सहकारीमा समस्या आएको थाहा पाउनेबित्तिकै आफ्नो रकम निकाले ।

कतिले गुण्डा लिएर गएर आफ्नो रकम निकाले त कतिले प्रहरी । तर, जो सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरूको झुटा आश्वासनमा परे, जोसँग न त राजनीतिक पहुँच नै थियो, न त पैसा, त्यस्तो मानिसको सहकारीले रकम खाइदिएको छ । कति सहकारीका सञ्चालकहरूले त बजारबाट कर्मचारीहरूलाई पासबुक संकलन गर्न लगाएर बचतकर्ताले बचत गरेको प्रमाण समेत मेटाइदिएका छन् । ब्याज चढाउने नाममा उनीहरूले पासबुक लिए, तर आगो सल्काइदिए । मुलुकभर सञ्चालित अधिकांश सहकारी डुबिसकेका छन् ।

कतिपय रातारात भागेका छन् । नभागेकाहरूले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले काठमाडौंको मिनभवनस्थित सहकारी विभागमा हजारौं बचतकर्ता सहकारीले बचत फिर्ता गरेको गुनासो लिँदै आइपुग्छन् । उपत्यकाभित्र र बाहिरका जोकोही सहकारीले बचत फिर्ता नगरेको वा भागेको भनेर गुनासो सुनाउन सहकारी विभाग आउँछन् ।


तर, विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय ती पीडित बचतकताको कुरै नसुनी सिधै गाउँपालिका, नगरपालिका, प्रहरी प्रशासन वा प्रदेशस्थितमा जान भन्छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही समयअघि सहकारी मन्त्री रञिजता श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहकारी विभागका रजिस्ट्रार, उपरजिस्ट्रार आफूहरूकै पक्षमा रहेको बताएका थिए ।

उनले बचतकर्ताहरूले जति आन्दोलन गरेपनि केही नहुनेसमेत बताएका थिए । उनको भनाइअनुसार बचतकर्तालाई घर न घाटको बनाउने सहकारीको पक्षमा सरकार त छँदै छ, अझै उनीहरूसँग राजनीतिक आड पनि छ । अहिले सहकारी पीडित बचतकर्ताहरू रकम फिर्ता नगराउने सहकारीका सञ्चालक र अध्यक्ष भगाउनेमा महासंघकै हात रहेको बताउँछन् ।


यति मात्र नभई त्यस्ता सहकारी सञ्चालकलाई प्रहरी प्रशासनको हातमा पर्न नदिन उनले लुकाउनेसमेत गरेको बचतकर्ताको आरोप छ । सहकारीपीडित बचतकर्ताहरू राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललाई पक्राउ गर्न सरकारसँग माग गरिरहेका छन् । बचतकर्ताले अहिले त माइतीघर मण्डलामा आन्दोलन मात्र चर्काइरहेका छन्, तर उनीहरू आक्रोशमा आएपछि एकाएक सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई खोजेर हातखुट्टा भाँच्ने छन् ।

अहिले सहकारीका कर्मचारीहरू धमाधम आफ्नो कोठा सारिरहेका छन् । बचतकर्ताले आवेगमा आएर कुटपिट गर्ने डर उनीहरूमा छ । तर, हुन पनि किन नहोस्, हिजो उनीहरूले नै आमसर्वसाधारणले सहकारीमा बचत गर्दिनँ भन्दा समेत ब्याजको प्रलोभनमा देखाएर जबर्जस्ती बचत गर्न लगाएका थिए । कतिले त सहकारी भागेमा आफैंले रकम फिर्ता गर्ने वाचासमेत गरेका थिए । त्यसकारण पनि अहिले बचतकर्ताहरू सहकारीका सञ्चालकभन्दा कर्मचारीबाट चिढिएका छन् । अहिले बजारमा जताततै सहकारीका सञ्चालकदेखि कर्मचारीसमेत चोर, ठग भएको भनेर भनेको सुनिन्छ ।

अहिले अधिकांश सहकारी भागिसकेका छन् । बचेकाले पनि बचतकर्ताको रकम फिर्ता नगरेर हैरानी छ । सहकारीले जनस्तरमा दिनप्रतिदिन नकारात्मक असर पर्दै गएको छ । त्यसैले, अब सर्वसाधारणले सहकारीमा न त बचत गर्ने छन्, न गर्न दिने नै छन् । साथै, सहकारी संघसंस्था अब धेरै दिन टिक्ने छैनन् । बचतकर्ताको रकम सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले घुस खाएर घरजग्गा, गाडी, सेयर र निजी कम्पनीमा लगानी गरे । यति मात्र नभई उनीहरूले नै जग्गा प्लानिङको काम थाले ।

सहकारीको अधिकांश लगानी घरजग्गा, गाडी, सेयरमा छ । सरकारले पनि पहिल्यै सहकारी संघसंस्थालाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्न दिनुहुँदैन थियो । अहिले सहकारी सञ्चालक र दलाल, बिचौलियाहरूको मिलेमतोमा करोडौं बचतकर्ता सडकमा आइपुगेका छन् । हिजो सरकारले सहकारी संघसंस्थालाई धमाधम लाइसेन्स दियो । तर, जनता ठग्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी कारबाही गर्न सरकार केही गर्दैन ।

अब सहकारीपीडित बचतकर्ताहरू न्याय माग्न कता जाने । माइतीघर मण्डलामा दिनहुँ आन्दोलनमा बसेर मात्र न्याय पाइन्छ भनेर के आशा ? माइतीघर मण्डलामा आन्दोलनरत रहेका बचतकर्ताहरू संगठित छैनन् । उनीहरू आ–आफ्नो पीडा बोकेर बसेका छन् । यसरी बचतकर्ताहरू एकजुट नहुँदा पनि उनीहरूको न्याय प्राप्तिमा ढिलाइ भएको छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *