रास्वपा उपसभापति अर्याललाई धम्की दिने विजय कालिकोटे पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिने विजय कालिकोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङक रूपाकोट मजुवागढी नगरपालिका–९ स्थायी ठेगाना भएका ३८ वर्षीय कालिकोटेलाई काठमाडौंँबाट खटिएको प्रहरी अनुसन्धानको टोलीले सोमबार कपनबाट प्रकाउ गरेको हो ।
असार २९ गते विजय कालिकोटेले रातको समयमा फोन तथा म्यासेजमार्फत् धम्की दिदैँ रास्वपा उपसभापति अर्याललाई कुनै व्यक्तिलाई सिध्याइदिने र त्यसका लागि सहयोग गर्नुपर्ने भन्दै अर्याललाई सम्पर्क गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
पार्टीको नाम जोडेर कुनै व्यक्तिलाई पार्टीविरोधी भनिएको र त्यस व्यक्तिलाई आफूहरुले सिध्याउन लागेकाले त्यसका लागि सहयोग गर्न कालिकोटेले फोन र म्यासेजमार्फत् धम्की दिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार अर्यालले उक्त कालिकोटेको कुरालाई अस्वीकार गरेपछि उनले धम्की दिएका थिए । पक्राउ परेका कालिकोटेविरुद्ध अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।