चन्द्रागिरि र विन्धवासिनी सहकारीबीच भगिनी सम्बन्ध सम्बन्धी समझदारी


काठमाण्डौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र काभ्रेपलाञ्चोक बनेपामा रहेको विन्धावासिनी बचत तथा ऋण सहकारी संस्थाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चन्द्रागिरिको मुख्य कार्यालय थानकोटमा आयोजित एक कार्यक्रममा चन्द्रागिरि र विन्धवासिनी दुवै संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर र शान्तकुमार श्रेष्ठ तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र के.बि.लामा स्याङ्तानले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुवै संस्थाले एक अर्काको साख अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, उच्च व्यवस्थापन, कर्मचारी र सदस्यहरुकाबीच आपसमा अध्ययन, अवलोकन, तालिम तथा क्षमता अभिवृद्धि जस्ता संस्थागत लगायत औपचारिक, अनौपचारिक कार्यक्रमहरुमा परस्परमा सहभागी गराई एकापसमा सामाजिकीकरणको अवसर उपलब्ध गराउने उद्देश्यले उक्त भगिनी सम्बन्ध स्थापना भएको जनाएको छ ।

एक अर्काले प्रयोगमा ल्याएका नीति, विधि, प्रविधि तथा अभ्यासहरु आपसी सहमतिमा कार्यान्वयनमा ल्याई दुवै संस्थालाई व्यावसायिक, सुशासनयुक्त, स्वअनुशासित, प्रविधिमैत्री र जोखिममुक्त बनाउन रचनात्मक योगदान गर्ने । त्यसैगरी साझा कार्यक्षेत्रभित्र रहेका सदस्यहरुकाबीच दोहोरो लगानी नगर्ने र दोहोरो सदस्यता तथा लगानी रहेको पाइएमा त्यसलाई उच्च प्राथमिकतामा राखी क्रमशः समायोजन गर्दै जाने सम्झौतामा पत्रमा उल्लेख छ।

सहकारी ऐन, नियमावली, निर्देशन तथा मापदण्ड, नियामक निकाय, छाता सङ्गठनले गर्ने परिपत्र, दिने निर्देशन एवं सहकारी सम्बद्ध क्षेत्रीय, अन्तर्राष्ट्रिय सिद्धान्तहरुको परिधि र मर्यादाभित्र रहेर सहकारी अभियानको साख वृद्धिमा संयुक्तरुपमा उल्लेख्य योगदान पुर्याउने भएको छ । यसैगरी दुवै संस्थाहरुले आ–आफ्ना सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्न उपयोेगी हुने खालको समान प्रकारको वस्तु तथा सेवा विकासका अवसरहरु संयुक्त रुपमा खोजी गर्ने र आकस्मिक अवस्थाहरुमा दुवै संस्था निर्वाध रुपमा सञ्चालन गर्न विपत व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धी ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने आदि जस्ता कार्यहरु दुवै संस्थाहरु मिलेर गर्नेछन् । चन्द्रागिरि साकोसले यस अघि बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी र पोखरा स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थासंग पनि भगिनी सम्बन्ध स्थापना गरी सहकारीता, पारस्पारिकता र आपसी समझदारी कायम गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *