संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्सले पौने ४ अर्बको व्यापार


काठमाडौं । संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्स प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ९० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् १९९५ मा स्थापना भएको कम्पनीले पोलिस्टर, भिस्कोस एण्ड एक्रिलिकरब्लेन्डेड यार्न (धागो) उत्पादन गर्दै आएको छ। कम्पनीले वार्षिक १४ हजार ६८९ मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ ।

रामचन्द्र संघई अध्यक्ष रहेको कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १०६ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा धागोको उच्च माग भएकाले निर्यात ह्वात्तै बढेको कम्पनीको भनाइ छ । जसले गर्दा आम्दानी पनि बढेको छ । कम्पनीले सन् २०२२ मा ११.५३ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड ८९ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७७ करोड १० लाख रुपैयाँ अर्थात् ए फोर रेटिङ पाएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी धागो उत्पादन गर्दै आएको छ ।

कम्पनीका अनुसार कच्चा पदार्थको मूल्य बढ्दा नाफा घटेको जनाएको छ । कम्पनी आयात तथा निर्यात व्यापारमा पनि संलग्न छ । कम्पनीले विशेषगरी उत्पादित धागो टर्की र भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले व्यापार गरेकोमध्ये ७९ प्रतिशत हिस्सा निर्यातको छ । कम्पनीले आम्दानी गरेकोमा ५० प्रतिशत टर्कीले आयात गर्ने गरेको थियो । तर, टर्कीबाट माग नआउँदा सन् २०२४ को ६ महिनाको अवधिमा व्यापार घटेको उल्लेख छ । त्यस्तै, सरकारले धागो निर्यातमा प्रोत्साहन अनुदानको व्यवस्था गरेको छ । सरकारले निर्यात गर्ने धागोमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *