गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले तत्काल संसद् नखुल्ने संकेत गरेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै एमालेले साउन १० गते संसद् अवरोध गरेको थियो । संसद् बैठक साउन १५ गते बोलाइएको छ । तर सोमबारको बैठक पनि अवरुद्ध गर्ने संकेत ओलीले गरेका छन् ।

शनिबार बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिरसमेत गरे । सरकारको मिलेमतोमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको आरोप लगाएका छन् ।

ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तव्यविनाको यात्रीको संज्ञा दिए । ‘अहिलेको सरकारको न कुनै गन्तव्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडिचुँडी खानका लागि बनेको हो । यो सरकारबाट आशा गर्नुको कुनै अर्थ छैन ।’

सरकारको संलग्नता र संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए । ‘बाहिरी देशबाट आएकाहरू एयरपोर्टको अत्याधुनिक मेसिन र तालिम प्राप्त मान्छेले जाँच गरेपछि मात्र बाहिर आउन पाउँछन् । सर्वसाधारणले एउटा सियो छिराउन नसक्ने ठाउँबाट एकैसाथ एक क्विन्टल सुन छिर्नु सामान्य कुरा होइन ।

सरकारको संलग्नता र संरक्षणविना यो सम्भव हुने कुरै भएन,’ उनले भने, ‘सय केजी सुन भित्रिएकोबारे जाँचबुझ गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनुपर्छ । नत्र एमालेले सदन र सडक तताउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक क्विन्टल सुन भित्र्याउन सघाउने गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखे । उनले सुन भित्रिनुमा गृहमन्त्री मुख्य दोषी भएको औँल्याए । ‘नैतिकता भएको भए सुन बरामद भएकै दिन गृहमन्त्रीले राजीनामा दिनुपथ्र्यो । तर, उहाँले लाजसरम नमानेर घटना ढाकछोप गर्दै उल्टै विपक्षीलाई गाली गर्ने र बदनाम गर्दै हिँडिरहनुभएको छ । लाजसरम छ भने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *