अध्यक्ष लिङ्देनसँग देउवा-प्रचण्डले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । ‘कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं’ लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । उच्च स्रोतका अनुसार, संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । ‘कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं, अरु प्रदेशमा पनि आउनुहोस्’, प्रचण्डको प्रस्ताव थियो । तर अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ दिएनन् । ‘सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौं । भर्खर त बाहिरिएको हो’, लिङ्देनको जवाफ थियो ।

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राप्रपाले समर्थन गरेको थियो । तर त्यसबेला नेकपा एमालेसहित सात दलसँग प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धन बदलेपछि राप्रपाले सत्ता छोडेको थियो । सत्ता छोड्दा राप्रपाले गठबन्धन बदल्ने प्रचण्डको निर्णयलाई नै कारण भनेको थियो । संघको सरकार छोडेपनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार भइञ्जेल राप्रपा सरकारमै थियो । गएको १५ असारमा कोशीमा एमाले नेता हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।

तर कार्कीले विश्वासको मत नपाएपछि कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर ४७ सिट पुर्‍याएका थिए ।

जसअन्तर्गत ६ सिट रहेको राप्रपाका अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *