ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्माले पाए सफाइ
काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् ।
उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भयो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध पर्यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।
उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर विक छन् । त्यसमध्ये लालबहादुर उक्त ज्वेलर्समा काम गर्ने कालिगड मात्रै थिए ।
‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् । निजबाट म ठगिएको होइन’ भनी जाहेरवाला बलराम पुरी, पवित्रा गिरी, गंगादेवी गुरुङ, अर्जुनकुमार वन, चुँडाबहादुर क्षेत्री, भीमकुमारी राई, कृष्णबहादुर क्षेत्री, रत्नकुमारी राई, ख्याम अधिकारी, लिलादेवी दाहाल, लिलाबहादुर अधिकारी, बलराम गुरुङ, पुष्पा राई, निर्मला राई, चित्रबहादुर अधिकारी, चन्द्रकला श्रेष्ठ, कोपिला पुरी, पदमबहादुर गुरुङ, संजोग राई, सुकमित गुरुङ, सुमित्रा गिरी, चन्द्रबहादुर लामिछाने, दिव्यश्वरी पुरी, तारा बस्नेत, उमादेवी गुरुङलगायत ७२ जनाले बकपत्र गरेका छन् ।