१२ अर्ब नाफा कमाएको विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताए ।

सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए । सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङको भनाइ छ । सर्वसाधारणमा दिइने विद्युत्‌ गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए ।

उनका अनुसार विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरिएको उनले बताए ।

प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बित्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । आन्तरिक र वाह्य गरी विद्युत् बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ । कुल आम्दानी भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानी बढे पनि कम्पनीको कर्मचारी तथा अन्य खर्चहरु बढ्दा गत आर्थिक वर्षको नाफामा केही कमी आएको देखिन्छ । २०७८/७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अहिले पत्रकार सम्मेलन भइरहेको छ । पत्रकार सम्मेलनमा घिसिङ बोलिरहेकै बेला झ्याप झ्याप बिजुली गइरहेको थियो । पत्रकार सम्मेलन जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *