माधव नेपाल किन भ्रमण छोट्याएर नेपाल फर्किंदैछन् ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोपको १५ दिने भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् ।

स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल भदौ १ मा स्वदेश फर्किने कार्यक्रम थियो । तर ललिता निवास जग्गा प्रकरणमा तारन्तार सीआईबीले बोलावट गरेपछि पूर्वप्रधानमन्त्री नेपाल भ्रमण छोट्याएर फर्किन लागेका हुन् । हाल अध्यक्ष नेपाल स्पेनमा छन् ।

उनले क्रोसिया र बेलायत भ्रमण भने स्थगित गरेका छन् । नेपाल भ्रमण छोट्याएर फर्किन लागेको उनीनिकट एक नेताले जानकारी दिएका छन् । नेपाल आइतबार नै स्वदेश फर्किने तयारी रहे पनि टिकट मिलिनसकेको उनले बताए । अब उनी सोमबार फर्किन लागेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रममा सहभागी नेपाल साउन २२ मा टर्कीको इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका थिए ।

सर्वोच्च अदालतले बालुवाटारस्थित जग्गा प्रकरणमा नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा राख्न आदेश दिएकै भोलिपल्टै नेपाल विदेश भ्रमणमा हिँडेका थिए । जेनेभा पुगेर नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको प्रस्टीकरण दिएका थिए ।

पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निवासमै गएर बयान लिने तयारी गरेको छ । अदालतले दिएको समय गुज्रिँदै गएको र अनुसन्धान गर्ने समय पनि घर्किदै गएपछि सिआईबीले बयान लिन दबाब दिइरहेको छ । बाबुराम भने नेपालमै छन् । उनले आवश्यक परेका बेला सघाउन आफू तयार रहेको प्रतिक्रिया दिइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *