सुन तस्करी प्रकरण : गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । यसअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सुम्पिएको छ । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *