सदनको अवरोध खुलाउन सभामुखले बोलाए सत्ता र विपक्षी पार्टीका प्रमुख सचेतकको बैठक
काठमाडौं । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।
बैठकमा सत्तापक्ष नेपाली कांग्रेस र माओवादी तथा विपक्षी दलबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ । प्रतिनिधिसभाको बैठक आइतबार बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको सूचना सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै झन्डै एक महिनादेखि सदन अवरुद्ध गर्दै आएको छ । तर सरकार र सत्तापक्षले सुन तस्करीबारे अनुसन्धान गर्न छानबिन समिति आवश्यक नरहेको बताएका छन् । एमाले भने आफ्नो मागबाट टसमस भएको छैन ।
शुक्रबार सभामुखले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेर सदन खुलाउन निर्णायक पहल गर्न आग्रह गरेका थिए । प्रचण्डले शनिबार एमालेसँग महत्वपूर्ण छलफल हुने र आइतबारदेखि सदन खुल्ने आशा व्यक्त गरेका थिए । तर शनिबार एमालेसँग महत्वपूर्ण छलफल गर्ने बताएका प्रचण्ड र सभामुख घिमिरे आफैं पाँच घन्टाभन्दा बढी नाचगान हेर्नमै मस्त रहे ।