देशलाई द्वन्द्वमा धकेल्ने प्रयास भयो : कोइराला
धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्त्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्नेप्रयास भइरहेको बताएका छन्।
देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिएको उनको भनाइ छ। धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको बताए। उनले धर्मका नाममा राजनीति नगर्न आग्रहसमेत गरे।
उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीलाई आग्रह गरेका थिए। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको उनको भनाइ छ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान-२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशभरि जाने खतरा रहेको बताए।