गौर घटनाको मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले १७ वर्षअघि गौर हत्याकाण्डलाई लिएर अन्तर्राष्ट्रिय अदालत (हेग)सम्म जाने चेतावनी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकारले गौर घटनाका दोषीहरूलाई कारबाही नगरे चुप लागेर नबस्ने उनले बताए । उनले भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’
बैठकमा साहले पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी समेत गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको पनि बताए ।
त्यस्तै उनले सुन काण्डमा पनि ठूला पार्टीका नेता तानिएपछि जनताको दिमाग डाइभर्ट गर्न धरान काण्ड चलाइएको बताए ।