द्रुत बसका लागि उपत्यकामा अलग्गै लेन, भोलीबाट संचालनमा आउने
काठमाडौं । असोज ३ गतेबाट संचालनमा आउने सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा निधारित बाटा बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न रेड मार्क गर्न थालेको हो।
असोज ३ देखि द्रूत बस चलाउन यस्तो तयारी गरिएको सडक डिभिजन कार्यालयका प्रमुख नारायण निहुँरेले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसरमा ३ असोजदेखि द्रुत बस सेवा थाल्न निर्देशन दिएका थिए। यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयार गरेको छ।
बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ। ‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो। तर लामो वर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गरिरहेको छ। रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाइएको हो।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौंमा हुने चर्को धेरै ट्राफिक जाम कम गर्न मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन्। अबदेखि बिहान र साँझ कार्यालय सयममा ‘द्रूत बस सेवा’ सञ्चालन हुने छ। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म यो बस चल्नेछ।