सरकार सञ्चालनमा पार्टीबाटै खुट्टा तान्ने काम भएको छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

मंगलबार शेखर कोइरालाको सचिवालयमा बसेको इतरपक्षका नेताहरूको बैठकमा गुरुङले यस्तो बताएका हुन् । ‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन्’ महामन्त्री शर्माप्रति लक्षित गर्दै गुरुङले भने, ‘आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’ समूहमा नयाँ मान्छे जोड्ने कुरासँग जिम्मेवारी दिने कुरामा लड्नुपर्ने बताउँदै उनले भने, ‘महिला संघ, तरुण दलमा हाम्रा मान्छेलाई रोक्ने काम भयो । हाम्रो भित्रैबाट पनि भयो । विभागमा पनि हामीलाई आफ्नो पोजिसन क्लियर पार्नुपर्छ ।’

कानुनमन्त्रीसमेत रहेका गुरुङले सरकारबारे ब्रिफिङ सुनाएका थिए । सोक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनका पक्षमा उभिन आफूले निरन्तर दबाब दिइरहेको दावी गरे । कानुनमन्त्री गुरुङले न्यायाधीश नियुक्तिको प्रशंसा भएको समेत बताए । ‘१५ वर्षपछि सही मान्छेलाई न्यायाधीश नियुक्त गरिएको भनेर प्रशंसा भएको छ’ उनले भने, ‘न्यायाधीशलाई पेन्सनको व्यवस्था गर्ने कुरा पनि भएको छ ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाले काम कारबाहीमा हस्तक्षेप गरिरहेको बताउँदै अगाडि थपे, ‘न्यायाधीश नियुक्तिमा सभापतिजीले फोन गरेर यो मान्छे राम्रो छ भन्नुहुन्थ्यो । तर, मैले हुन्छ भनेपनि सबै हेरेर मात्र काम गरेको छु ।’

उनले सरकार सञ्चालनमा पार्टीभित्रैबाट खुट्टा तान्ने काम भएको गुनासो गरे । गुरुङले भने, ‘हामीले यो सरकारलाई काम गरेन भन्नू भएन । काम गर्नु दिनुपर्छ । भुटानी शरणार्थी प्रकरणमा वेतन झालाई पक्राउ गर्न सकिएको भए धेरै कुराको पर्दाफास हुने थियो । तर, उनलाई पक्राउ गर्न दिइएन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *