आन्दोलनरत डाक्टरहरुलाई नेविसंघको साथ

काठमाडौँ ।  नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सक आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले मुलुकभरका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरुको सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्न पाउँ भन्ने मागप्रति संघको ऐक्यबद्धता रहेको बताएका छन् । पछिल्ला केही सातामा मुलुकका विभिन्न स्वास्थ्य संस्थामा पटकपटक स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौजका घटनाले संघलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनले यस विषयमा राज्य गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

‘स्वास्थ्य जस्तो संवेदनशील विषय र अहोरात्र खटेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको जीवन असुरक्षित हुदैँ गर्दा काम गर्ने वातावरण नरहने जसले गर्दा आम सर्वसाधारणको स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर प्रभाव पर्ने कुराले नेविसंघ चिन्तित भएको छ,’ आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष शेर्पाले उपचार गर्दा कुनै हेलचक्राइँ भएको आभास भएमा उचित छानबिन तथा कारबाहीको निम्ति राज्यका निकायहरु नेपाल मेडिकल काउन्सिल, गृह प्रशासन तथा न्यायालय रहेको उल्लेख गर्दै कानून हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको भौतिक हमलाको भत्र्सना गरेका छन् ।

साथै, सरकार र गृह मन्त्रालयको सामुन्ने भइरहेका यस्ता घटनाको निन्दा गर्दै उनले सत्यतथ्य छानबिन गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने समूहलाई कानूनी दायरामा ल्याउन र मुलुकमा कानूनी राज्यको प्रत्याभूति गराउन समेत माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *