ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका १६ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो ।
बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।
साबिक बैंक अफ काठमाण्डूका भलुबाङ्ग दाङ्ग, टिकापुर कैलाली, तुलसीपुर दाङ्ग, न्यूरोड काठमाडौं, धरान सुनसरी, घोराही दाङ्ग, कालिकानगर रुपन्देही र बिर्तामोड झापा शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु तुल्सीपुर दाङ्ग, खैरेनी रुपन्देही, टिकापुर कैलाली, न्यूरोड काठमाडौं, तिनकुने काठमाडौं, चाबहिल काठमाडौं, सुदूरपश्चिम प्रदेश कार्यालय कैलाली र बिर्तामोड झापा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।
