इजरायलबाट २५३ जना नेपाली विमान चढे,फर्किदै नेपाल एयरलाइन्सकाे जहाज
काठमाडौँ । इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन त्यसतर्फ गएको नेपाल एयरलाइन्सले २५३ जनालाई लिएर तेलअभिभबाट उडेको छ । विहिबार बिहान परराष्ट्रमन्त्री एनपी साउदसहित तेलअभिभ पुगेको नेपाल एयरलाइन्सको विमानबाट २५३ जना फर्किन लागेका हुन् । यो विमान काठमाडौँमा राति ९ बजेसम्म आइपुग्ने छ ।
इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ र आजको विमानबाट २५३ जना फर्किएका छन् । अहिलेसम्म दुताबासमा करिब ४०० जनाले नेपाल फर्किने चाहाना व्यक्त गरेका छन् । सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरुलाई चार्टर विमान नभए अन्य विमानबाट आउदाको टिकट खर्च बेहोरिदिने निर्णय गरको छ । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।
इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत थिए । जस मध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको छ भने एक जना सम्पर्कविहिन रहेका छन् ।

















