मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने तयारी
काठमाण्डौं। नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ । यस विषयमा सोमबार बसेको पार्टीको प्रदेश कमिटीमा छलफल भएको छ । मत दिने नदिनेबारे माओवादीको संसदीय दलको निर्णय हुन भने बाँकी छ । माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कार्कीलाई विश्वासको मत दिने विषयमा बैठकमा छलफल भएको बताए ।
कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन सोमबार सूचना दर्ता गराएका छन् । शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसक ८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्वोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कार्की एमालेका सांसदको साथ लिएर मुख्यमन्त्री बनेका हुन् ।