दशैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत सुटुक्कै घर हिँडेपछि…

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।

हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् ।

बिना जानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ’, उनले भने, ‘उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताए । ‘आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु’, उनले भने, ‘दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पुर्याउन नसकिने गाउँपालिकाले जनाएको छ ।

भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्नरनगराउन अनुरोध गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाकोसमेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।

‘सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *