यस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था


काठमाडौं । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन बेइजिङ पुगेका गृहमन्त्री श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात भएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा (ओएम) मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ । गृहमन्त्री श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका निम्ति मेडिकल आईसीयूमा स्थिर अत्यावश्यक संकेतका साथ पूर्ण रूपमा होसमा रहेको अस्पतालले जनाएको छ । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *