विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको हो । महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौंले सोमबार (आज) गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको उल्लेख छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन सूचनामा भनिएको छ ।

जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि ०७६ साल असोज ९ गते उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्वन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले उनीहरु फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *