एनसेल बिक्री काण्डमा मुछिएका कोही पनि छुट्नु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्डमा सामेल कोही पनि छुट्न नहुने बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एनसेल खरिदबिक्री प्रकरण हेर्दा हेर्दैको डकैती भएको भन्दै उनले यस प्रकरणमा मुछिएका कोही पनि छुट्न नहुने बताएका हुन् । ‘यो लुट, ब्रह्म लुट, सिधै हेर्दा हेर्दैको डकैती हो । यसमा संलग्न कोही पनि नछुटोस्,’ उनले भने ।

नेता नेपालले एनसेलको स्वामित्व अहिले बेच्ने अनि ६ वर्षपछि हस्तान्तरण गर्ने भन्ने सम्झौता नै जालसाजीपूर्ण भएको टिप्पणी गरे । उनले भने, ‘अहिले बेचेर ६ वर्षपछि नेपालीको हातमा आइसकेकाले पुरानो कानून लागु हुँदैन भन्ने देखाउने षडयन्त्रमूलक काम भएको छ ।’ त्यस्तै एनसेल बिक्रीलाई वैधानिकता दिन सो अनुकूल कानून बनाउन, भएका प्रावधानमा संशोधन गर्न भनेर मस्यौदा समेत निर्माण भएको जानकारीमा आएको दाबी गर्दै उनले यी सबै कुराहरुको छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘यसमा अहिले होस् वा पहिले पहिले पनि, कसैले आँखा चिम्लेको छ भने त्यसको छानबिन गरेर कुनैपनि हालतमा दण्डित गर्नुपर्छ ।’ एनसेलमा बदमासी गर्नेहरुलाई सजाय दिएर सरकारले देशको हितको रक्षा गर्नुपर्ने उनको भनाई थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *