चितवनलाई हराउँदै शीर्ष स्थानमा ललितपुर
काठमाडौं । एफसी चितवनविरुद्ध ३–१ को जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन पापा आइबेउ केबेले दुई र विवेक पौडेलले एक गोल गरे । चितवनका रफिक एमिनुले एक गोल फर्काएका थिए । २०औँ मिनेटमा पापा आइबेउ केबेले गरेको गोलबाट ललितपुरले अग्रता बनाएको थियो ।
५७औँ मिनेटमा विवेक पौडेलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाएका थिए । ८९औँ मिनेटमा रफिक एमिनुले गोल फर्काउँदै चितवनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसको अर्को मिनेटमा पापा आइबेउ केबेले पेनाल्टीमार्फत गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा राखे । आदित्य शाक्यमाथि १८ यार्ड बक्समा चितवनका उत्सभ राईले फाउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो ।
जसमा पापा आइबेउ केबेले कुनै गल्ती गरेनन् । जितसँगै पाँच खेलबाट नौ अंक जोडेको ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले पाँच खेलमध्ये दुईमा जित र तीन खेलमा बराबरी खेलेको छ । समान खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा झरेको छ ।