नवजागरण साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
रामेछापको मन्थलीमा रहेको नवजागरण साकोस मन्थलीले एक्सेस बागमती क्लस्टर अन्तर्गत दोस्रो समूहको ३५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश क्लष्टर अन्तर्गतका विभिन्न जिल्लाका गरी १० वटा संस्थाका प्रतिनिधिहरू समेतको उपस्थितिमा भएको कार्यशालाले सहकारी सम्बन्धी समस्या तथा समाधानको उपाय र आ आफ्नो संस्थाको अवस्था र अनुभूति समेत आदान प्रदान गर्ने उद्देश्य सहित अन्य महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको छ । कार्यशालाका लागि विषय विज्ञका रूपमा प्रेम नाथ वाग्लेले सहजिकरण गरेका थिए ।
कार्यशालाको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले औपचारिक रूपमा उद्घाटन गर्दै राज्य पक्षकै बेवास्ताका कारण सहकारीहरू सङ्कटपूर्ण अवस्थामा गुज्रिँदै जनाए । यसको निकासका लागि सबै सहकारीहरू एकजुट् हुनु पर्ने उनले बताए । साकोसका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यशालामा बोल्दै जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले सहकारी अभियानमा अहिले पनि समस्या रहेको कुरा उल्लेख गर्दै यसको निराकरणका कार्यशालाले सार्थक भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे । कार्यशालाको उद्घाटन सत्रमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, लगायतका वक्ताहरूले नवजागरणले जिल्लाको सहकारी अभियानमा उल्लेखनीय योगदान पुराएको भन्दै कार्यशाला सहकारीको विकासमा कोशेढुँगा साबित हुने उल्लेख गरे। कार्यशालामा साकोसका उपाध्यक्ष दीपक क्षेत्रीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।