वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश
काठमाडौं। वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन गरिएको भन्दै उच्च अदालत पाटनले करेन्ट चाउचाउ बिक्री गर्न रोक लगाएको छ। यशोदा फुड्सले करेन्ट चाउचाउ उत्पादन गर्छ। वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भनाई वाइवाइको छ। उच्च अदालत पाटनको संयुक्त इजलासले बुधबार यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो।

यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेको भन्दै सीजी फुड्सले त्यसलाई रोक्न माग गर्दै अदालत गएको थियो। चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको कम्पनीले जनाएको छ। यशोदा फुड्सले वाइवाइको नक्कल गरी त्यसलाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको वाइवाइले जनाएको छ। अदालतले यशोदा फुड्सको आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ। अदालतको आदेशले वाइवाइको नक्कल गरि बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ। यदि बजारमा पठाइएका चाउचाउ यथावत रुपमा बिक्री गरिएमा अदालतको मानहानी गरेको ठहरिने वाइवाइले जनाएको छ।