राष्ट्रियसभा निर्वाचन : एमालेलाई सिट छुट्याउने प्रचण्डको कदम
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै सत्ता गठबन्धनले सिट बाँडफाँटबारे छलफल सुरु गरेका छन् । मंगलबारदेखि औपचारिक छलफल सुरु भएको हो ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । कांग्रेसका तर्फबाट छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो।
छलफल सकिएलगत्तै प्रचण्ड र देउवा राष्ट्रिय सभा सदस्यमा एमालेलाई पछि सिट छुट्याउन राजी भएको समाचार भाइ्ररल बनेको छ । जबकि सत्ता गठबन्धनमा एमालेले जितेका नौ र एक स्वतन्त्रले जितेको गरी १० सिटमा गठबन्धनमा भागबन्डा गर्ने सहमति भएको थियो ।
यस विषयमा छलफल गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ। पहिले चार दलबीच छलफल गर्ने र लगत्तै प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्ने तयारी छ ।
सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो। एमालेसँग भने शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा पनि छलफल गर्ने तयारी दलहरूको छ। तर प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच केही दिनयता सम्बन्ध सुधार हुँदै गएकाले राष्ट्रिय सभामा एमालेलाई भाग दिन प्रधानमन्त्रीले कांग्रेसलाई मनाउन खोजेको स्रोतले बतायो ।
एक वर्षपछि सहमतिअनुसार प्रचण्डले प्रधानमन्त्री कांग्रेसलाई छाड्नुपर्ने हुन्छ । अहिलेदेखि नै एमालेलाई सँगसँगै लैजान सके कांग्रेसलाई प्रधानमन्त्री छोड्नु नपर्ने, एमालेसँग मिलेर सरकार चलाउन सकिने प्रचण्डको बुझाई छ ।