महोत्तरीमा बँदेल आतंक बढ्दो

महोत्तरी। बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन्।

बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक बासस्थान बनाउन थालेका हुन् । 

“बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”,भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँल भन्छन् । 

अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् । 

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय  रहिमन मण्डलले भने। 

वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उनको भनाइ छ ।

“दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्”, मण्डलले भने । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् । 

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउछन् । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । 

आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *