पाँच महिनामा नेपालबाट अध्ययन र भ्रमणका लागि एक खर्ब २३ अर्ब बाहिरियो
काठमाडौं । अध्ययन र भ्रमणका लागि पाँच महिनामा एक खर्ब २३ अर्ब रुपैयाँ विदेशिएको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा यो परिमाणमा रकम बाहिरिएको हो।
अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको यो अवधि (साउनदेखि मंसिरसम्म) ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा थप ३९ अर्ब रुपैयाँ बाहिरिएको हो । साउनदेखि मङ्सिरसम्म भ्रमणका लागि ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ । गत वर्ष यति अवधिमा ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो ।
यस्तै अध्ययन प्रयोजनका लागि ४७ अर्ब ३४ करोड रुपियाँ लागि बाहिरिएको छ। गत वर्ष यति अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ विदेशिएको थियो।
अध्ययन र भ्रमणका लागि पाँच महिनामा बाहिरिएको रकम नेपालले वस्तु निर्यातबाट गरेको आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो । यो अवधिमा नेपालले ६२ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।