भारतको अयोध्यामा आज नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन हुँदै

काठमाडौं । भारतको अयोध्यामा आज नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन हुँदै छ ।

नवनिर्मित भव्य राम मन्दिरमा श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा शुभारम्भ हुने छ । भारतीय समयअनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा सुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थलगायत भारतका उच्चपदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ ।

अयोध्यामा आज हुन लागेको प्राणप्रतिष्ठालाई शताब्दीकै सबैभन्दा ठूलो धार्मिक अनुष्ठान मानिएको छ । त्यसमाथि अबको दुई महिनापछि भारतमा लोकसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गर्दै मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीमा आउन चाहेका छन् । अयोध्यामा राम मन्दिर निर्माणले मोदीलाई फेरि शक्तिमा फर्काउने विश्वास गरिएको छ । त्यही भएर विपक्षी दलहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

१८ अर्बको लागतमा बनेको विशाल मन्दिरमा आज प्राण प्रतिष्ठा गरिँदैछ । पाँच सय वर्षअघि ध्वस्त पार्न खोजिएको इतिहास आज अझ विशाल स्वरुपमा स्थापित हुँदैछ । अयोध्या, रामको जन्मभूमि भएको पौराणिक कथाहरुमा लेखिएको छ । त्यसकै आधारमा त्यहाँ मन्दिर बनाइएको थियो । जसलाई पाँच सय वर्षअघि मुगल सम्राट बाबरले राम भत्काएर बाबरी मस्जिद बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *