सुदूरपश्चिममा माओवादी दलको नेताबाट खगराज भट्ट हटाइए
काठमाडौं । माओवादी सुदूरपश्चिम प्रदेशका बहुमत सांसदले संसदीय दलको नेता फेरबदल गरेका छन् ।
संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरेको छ । दलको नेता फर्ने निर्णयमा माओवादीका ६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् । धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरु शिवसिंह ओली, ओमबिक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी बिकले हस्ताक्षर गरेका हुन् ।
दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यसअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको थियो । पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुख भीम भण्डारीसहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन् । दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको छ । भट्टले दलको नेताका रुपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेको भन्दै नेतृत्व फेरबदल गर्नुपरेको नेताहरूको भनाइ छ ।