बेहुली खोज्न रुसी युवकद्वारा च्याटजीपीटी प्रयोग
रुसमा एक जना युवकले भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग गरेका छन् । ५ हजार २३९ जना युवतीका डेटिङ प्रोफाइल चेक गरेर आफूलाई सुहाउँदो श्रीमती खोज्न ती पुरुषले च्याटजीपीटीलाई तालिम दिएका थिए । अलेक्जान्डर झादन नामक गरेका ती युवक यस अघि पनि रुसी इन्टरनेटमा भाइरल बनेका थिए । उनले २३ घण्टामै च्याटजीपीटीको सहाराले आफ्नो पूरा थेसिस लेखेर भ्याएका थिए । केही दिन अघि उनी फेरि पनि समाचारका हेडलाइनमा छाए । यस पटक भने उनी अनलाइन डेटिङ साइटमा रहेका हजारौँ प्रोफाइल चेक गर्न र उपर्युक्त पार्टनरबारे सुझावका लागि एआईटूलको प्रयोग गरेको खबरका कारण भाइरल बने । अलेक्जान्डरको यो कथा एक्समा कयौँ पोस्टहरूमा आएपछि माया खोज्नकै लागि एआईको प्रयोग गर्नुको नैतिकताबारे सामाजिक सञ्जालमा बहस छेडिएको छ । आफ्नो कथाले अरूले अनलाइन डेटिङलाई कसरी लिइरहेका छन् भन्ने कुरामा परिवर्तन आउन सक्ने उनी बताउँछन् । च्याटजीपीटीका आफ्नै सीमाहरू भएकोले डेटमा आफू व्यक्तिगत रूपमै संलग्न हुन जरुरी भएको उनको भनाइ थियो ।
आफूलाई सुहाउँदो यवती खोज्न डेटिङ एपमा दायाँबायाँ खोज्यो । कुराकानी सुरु गर्यो । तर केही पछि ती युवती बेपत्ता भइदिन्छिन् । यसरी समय नष्ट गर्नु भन्दा एआईले अनलाइन डेटिङ झनै राम्रो बनाउन सक्छ कि भन्ने विचार मनमा आएपछि अलेक्जान्डरले च्याटजीपीटीको साहारा लिए । शुरुमा उनले च्याटजीपीटीको सहाराले ५ हजार २३९ जना युवतीमध्येबाट प्रोफाइल फोटो, राशि, धर्मसम्बन्धी रुचि, युद्धसम्बन्धी अभिव्यक्ति आदिका आधारमा आफूलाई मन नपर्न सक्ने युवतीहरू छाने । त्यसपछि कठिन काम आयो – सम्भावित युवतीहरुमध्येबाट आफ्नो तर्फबाट च्याटजीपीटीलाई कुरा गर्न लगाउनु । आफूलाई चित्त बुझ्दो स्तरमा च्याटजीपीटीलाई प्रयोग गराउन उनलाई १२० घण्टा लाग्यो । यसका लागि उनले आफूले यस अघि युवतीहरूसँग गरेको कुराकानी र सोको उत्तरका आधारमा टूललाई तालिम दिए । तर पनि उनले चाहेजस्तो नतिजा आएन । एक पल्ट च्याटजीपीटीले अलेक्जान्डरलाई सूचित नगरी एक युवतीसँग डेट तय गरिदियो । अर्को पटक टूलले डेटिङ स्थान मस्कोको बित्सा पार्कमा राख्यो । यो त्यही पार्क थियो जहाँ सन् २००० को दशकमा एक कुख्यात सिरियल किलरले पीडितहरूको शव फ्याँक्थ्यो । केही असफलतापछि अन्ततः अलेक्जान्डरले दिएको डेटाका आधारमा च्याटजीपीटीले १२ जना युवती खोजिदियो । यिनै मध्ये एक उनको भावी पत्नी करिना थिइन् । फाइनल लिस्टमा परेका १२ जनामध्ये अलेक्जान्डरलाई करिना मन पर्यो । उनीसँग कसरी कुराकानी गर्ने, के के कुरा गर्ने अनि विवाहको प्रस्ताव अस्वीकार नहुने गरी कसरी प्रपोज गर्ने भन्ने सबै कुरा च्याटजीपीटीले नै सिकाएको हो । हरेकसँग च्याटजीपीटीले गरेको कुराकानी हेरेर सम्बन्धलाई अगाडि बढाउने कि नबढाउने भन्नेबारे उनले निर्णय गर्थे । करिनाले अहिलेसम्म च्याटजीपीटीको प्रयोगबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । तर उनले एक वर्ष अगाडि नै च्याटजीपीटी प्रयोग गरेको उनलाई बताएका थिए । १२० घण्टा समय र १ हजार ४३२ डलर खर्च गरेपछि च्याटजीपीटीले आफ्नो निकै समय र पैसा बचाएको अलेक्जान्डर बताउँछन् ।