सिद्धार्थ हस्पिटालिटी समूह २६ औं वर्षमा

काठमाडौं । होटल तथा रेष्टुरेन्टमा अर्बौं लगानी गरिरहेको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । भैरहवामा यसै बर्ष पाँचतारे होटल ‘सिद्धार्थ भिलाषा’, विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको समूहले २५ वर्ष पूरा गरी २६ औं वर्षमा लागेको हो । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस समूहले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट संचालन गर्दै आएको छ । २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस समूहले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ समूह अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमूलक रहेको बताए ।

उनले भने, ‘यो गुणस्तर युक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो । सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइँमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँच तारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ । गत वर्ष नै नेपालगञ्ज स्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा वर्गीकरण प्राप्त गर्न सफल भएका छन् । गत बर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर (स्विमिङ पुल, हेल्थ क्लब, स्पा) र रेस्टुरेन्ट थप गरि चार तारे स्तरमा स्तरउन्नति गरेको छ । हस्पिटालिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफा रहित संस्था ‘साकार’ मार्फत सप्ताहब्यापी विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बिभिन्न आउटलेटहरू मार्फत रक्तदान, सरसफाइ, अनाथलयहरूमा खाना वितरण तथा विद्यार्थीहरुलाई शिक्षण सामाग्री लगायत आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम गरिएको न्यौपानेले जानकारी दिए । यस वर्ष ‘साकार’मार्फत समूहले क्यान्सर पीडित एवं मृगौला पीडितलाई आर्थिक सहयोग गरेको र रुकुम–जाजरकोटमा गएको भूकम्पका पीडितहरूलाई राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको न्यौपाने जानकारी दिए । यस समूहले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ्ग कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म), सर्व टेक्नोलोजीज् लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ । सिद्धार्थ समूहले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना बनाएको छ । त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलमा स्तरउन्नति गर्ने योजना अनुरुप काम भइरहेको अध्यक्ष न्यौपानेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *