पत्रकार महासंघमा विभाजनको दुस्कर्म
नेपाल पत्रकार महासंघको स्थापना र संस्थापक अध्यक्षको विवादले अहिले उग्ररुप लिएको छ । महासंघले चैत्र १६ गतेलाई स्थापना दिवस र संस्थापक सभापतिमा कृष्णप्रसाद भट्टराईलाई मान्दै आएको छ । तर यता केहि समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध पत्रकार र जनजाति पत्रकारहरुको संस्था फोनिजले भट्टराई संस्थापक सभापति होइनन् भनेर ठुलो रडाको मच्चाइरहेका छन् । तिनले सत्यनारायण बहादुरलाई संस्थापक सभापति मान्नुपर्ने ढिपी गरेका छन् । तर स्थापना दिवसको सम्वन्धमा भने तिनीहरु मौन छन् । जनजाति पत्रकारको विचमा विवाद पुग्नु अघि यसले राजनीतिक रंग लिइसकेको छ । संघसस्थालाई राजनीतिक विवादमा होमेर अनुचित लाभ उठाउनेहरुको जमात विस्तारै बढ्दै जाँदैछ । सत्यनारायण बहादुर संस्थापक हुन कि होइनन् भनेर विवाद गरी पत्रकार महासंघलाई नै विवादको घेरामा तान्नुको रहस्य जे भए पनि त्यसले कसैको पनि हित गर्दैन भनेर बुझ्नु पर्छ । सामान्यतया कुनै पनि संस्थाको इतिहास काल्पनिक ढंगले निर्माण गर्न सम्भव हुँदैन । संस्थाको निरन्तरता, क्रियाशीलता र त्यसले गरेको कामले नै इतिहास निर्माण गर्छ ।
सत्यनारायण बहादुरहरुले पत्रकार संघ गठन गरेको कुरामा विवाद छैन । पुर्व सभापति सुरेश आचार्य र अन्य संघमा सक्रिय रहनेहरुले पनि पटक पटक त्यसको जिकिर गरेर महासंघका प्रकाशनहरुमा लेखेका छन् । केही खोजकर्ताले पत्रकार संघको दोस्रो सभाको सभापति श्रेष्ठलाई देखाएका छन् । २००८ सालमा को को समितिमा थिए भन्ने उल्लेख नभए पनि २००९ साल वैशाख २६ गते भएको भेलाले गठन गरेको समितिको नाम उपलब्धि छ । २००८ साल वैशाख ९ गते स्थापना भएको भनिएको समितिको २००९ साल वैशाख २६ गते भेलागरी समिति गठन गरेपछि न कुनै अभिलेख उपलब्धि छ न त लिखित इतिहास नै । पछि २०१२ साल चैत्र २६ गते भट्टराई नेतृत्वमा गठन भएको संस्थाको भने निरन्तरता छ । त्यसैलाई संघ र महासंघले आफ्नो इतिहास मानेका हुन् । २०५३ जेठ २९ गते संघ महासंघमा रुपान्तरण भएपछि पनि त्यही इतिहासको निरन्तरताको प्रतिनिधित्व गरेको दावी गरिएको छ ।
पत्रकारहरुका अहिले पनि थुप्रै संघ संगठन छन । मञ्जुरत्न शाक्य नेतृत्वको नेपाल पत्रकार संघले त आफुलाई एकमात्र अधिकारिक पत्रकार संघ भएको दावी गर्छ । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछिको महासंघको भुमिकालाई चुनौति दिन पी खरेल , निर्राजराज पाण्डे , जसुदा प्रधानहरुले समानान्तर महासंघ गठन गरेका थिए , त्यो पनि टिकेन । श्यामप्रसाद शर्माले २०१८ सालमा विरगंजमा ४१ जना पत्रकारको भेला गरी स्वतन्त्र रुपले अलग्गै पत्रकार संघ खोलेका थिए । त्यही संघ मार्फत २०१९ सालमा हंगेरीको वुडापेष्टमा भएको पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा शर्माले भाग पनि लिए । राजनीतिक पार्टी र संघसंस्थाहरुको गठन पुनः गर्ठन भइरहन्छन् । गठन पुन गठनले मात्र त्यसको अस्तित्वलाई निर्धारण गर्दैन अस्तित्व सिद्ध गर्न काम गर्नुपर्छ । अहिले एमाले र जनजाति पत्रकारले वर्तमान महासंघले संस्थापक स्वीकार गर्नुपर्छ भनेर ढिपी कसेका सत्यनारायण बहादुर श्रेष्ठ नेपालका प्रसिद्ध शिक्षासेवी हुन् । नेपालमा आवासीय विद्यालयको शुद्ध गर्ने श्रेय उनैलाई जान्छ । २००७ सालको क्रान्तिका एक योद्धा श्रेष्ठ भट्टराईका सहयात्री हुन प्रतिद्धन्दी होइनन् । उनको मृत्यु केही बर्ष अघि मात्रै भएको हो । तर पत्रकार संघलाई तल्लो तहसम्म पुर्याएर संस्थागत गर्ने अभियन्ता गोविन्द वियोगीले पनि भट्टराईलाई नै संस्थापक ठानेका छन् । उनको पालाका प्रकाशनहरुमा त्यही कुरा उल्लेख छ । श्रेष्ठले खोलेको संघ कोल्याप्स भएर नै भट्टराई नेतृत्वको वर्तमान संघ महासंघ गठन भएको कुरामा विवाद गरिरहनु पर्ने कारण छैन । सत्यनारायण बहादुरले संघ खोलेको इतिहासले स्वीकार गरिनै सकेको छ, तर वर्तमान महासंघ उनले स्थापना गरेको संघको निरन्तरता होइन भन्ने पनि प्रष्टै छ । यसरी हँुर्दै नभएको कुरा उछालेर विवाद झिक्नु मनासिव ठहर्दैन । भट्टराई र श्रेष्ठ दुवै जीवित रहँदै यो विवाद उठाएर निक्र्यौल गर्ने सकिन्थ्यो तर त्यसबेला यो विवादको मुद्धा बनेन । अहिले जातीयकरण गर्नेहरुको जमातले यसलाई भजाउन खोजिरहेछन भन्ने कुराको प्रमाण त जातीय हिंसामा उत्रिएका आङकाजी शेर्पाले महासंघमा पुगेर गरेको हर्कत छँदैछ । अतः यस मुद्धालाई थप चर्काउने र महासंघमा विभाजन ल्याउने दुस्कर्म बन्द गरौँ ।