कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । उनका अनुसार पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो । कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् । कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।
कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको भइरहेको छ । पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने जनाएको छ । साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशिल सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले प्रदेशस्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जीतको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
















