इप्पानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइँदै
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्थालाई हटाउने तयारी आगामी जेठ २९ गते हुने २४औं साधारण सभा तथा आठौं अधिवेशनमा यस सम्बन्धी प्रस्ताव लैजाने निर्णय कार्यसमिति बैठकले गरेको छ । हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान रहे पनि नयाँ व्यवस्थाले सबै पदमा निर्वाचनको बाटो खोल्ने लक्ष्य राखेको छ । यद्यपि, यो नयाँ व्यवस्था कहिलेबाट लागू गर्ने भन्ने विषयमा भने छलफल जारी रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । विधान संशोधनको प्राविधिक पक्षका कारण संशोधित व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउन केही समय लाग्न सक्ने देखिएको छ । इप्पानका उपाध्यक्ष उत्तम भ्लोनका अनुसार विधान संशोधन भएर जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक भएपछि मात्र लागू हुने भएकाले दशौं अधिवेशन (२६औं साधारण सभा) बाट मात्रै यो पूर्ण कार्यान्वयनमा आउन सक्छ। यसको अर्थ, आसन्न आठौं अधिवेशनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष नवौँ अधिवेशनमा स्वतः अध्यक्ष बन्ने सम्भावना कायमै छ ।
संस्थाभित्र वरिष्ठ उपाध्यक्षको पद नै राख्ने वा नराख्ने भन्ने विषयमा पनि बहस भइरहेको उपमहासचिव प्रकाश दुलालले बताए । प्रस्तावित नयाँ व्यवस्था अनुसार अध्यक्ष बाहेकका सबै पदमा साधारण सदस्यले निर्वाचन लड्न पाउनेछन् भने अध्यक्षको उम्मेदवार बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्य वा पदाधिकारी भएको हुनुपर्ने प्रावधान राख्न लागिएको छ । यसका साथै, इप्पानले तीन वर्षदेखि नवीकरण नभएका सदस्यहरूको हकमा आवश्यक अध्ययन गर्ने र नयाँ सदस्यका लागि जेठ १५ गतेसम्म आवेदन खुला गर्ने निर्णय समेत गरेको छ । बैठकले नयाँ सदस्यका लागि निवेदन दिएका १९ वटा कम्पनीलाई सदस्यता स्वीकृत गर्ने निर्णय गर्दै विधान संशोधनको अन्तिम प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्ष कार्कीलाई सुम्पिएको छ ।
















