नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्छ ः प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत–संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीत–संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले भने, “दर्शक–स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुन्डिएका छन् । तर, पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्युज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार समेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ ।

यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ । भाइरल र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले भाइरलको अर्थ ‘संक्रामक प्रसार’ भएकाले राम्रो नभएको उल्लेख गरे । सार्वजनिक मेला–महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरू समेत सँगै बसेर हेर्न नसकिने खालका हुने गुनासो आउने गरेको बताउँदै उनले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे । पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याको सामना गरिरहेको विषय समेत आफूले जानकारी पाएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले संस्था विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *