भीमेश्वर बहुउद्देश्यीयद्वारा दाना उत्पादन
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका भिरकोट–१ मा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले बि।एस।सि पेलेट दान उत्पादन सुरु गरेको हो । सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई ३० प्रतिशत बचत तथा ऋण र ७० प्रतिशत बहुउद्देश्यीय प्रकृतिको काम गर्नु पर्ने कानुनी व्यवस्था गरेको छ । सोही अनुरुप संस्थाले सुरुमा दाना उद्योग सञ्चालनमा ल्याएको जनाएको छ । संस्थाका अध्यक्ष सिताराम उप्रेतीले सहकारीमार्फत् कुखुराको दाना उत्पादन उद्योग सुरु गरेको बताए । २ करोड ९५ लाखमा उक्त उद्योग स्थापना गरिएको र बागमती प्रदेशमा नै सहकारीबाट सञ्चालन गरेको पहिलो दाना उद्योग भएको उनको भनाई छ । २०७५ सालबाट उद्योग स्थापनाको काम सुरु गरेको भएपनि कोभिड १९ का कारण समय उद्योग निर्माण कार्य सम्पन्न गर्न नसक्दा २०७७ साल देखि मात्र उद्योगबाट उत्पादन शुरू भएको उनले बताए । विगत ३ बर्ष उद्योग घाटामा रहेको भए पनि यस आर्थिक बर्षबाट भने उद्योग सञ्चालन खर्च जुट्न थालेको उनको भनाई छ । उद्योगबाट मासिक २०र२५ टन दाना उत्पादन हुँदै आएको छ भने ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्योग स्थापनाको लागि संघ, प्रदेश र स्थानीय तहबाट ६८ लाख अनुदान प्राप्त गरेको संस्थाले जनाएको छ । सुरुमा ५० प्रतिशत साझेदारी लागतमा उद्योग स्थापना गर्ने सम्झौता भएको भए पनि त्यो हुन नसकेको का.मु. व्यवस्थापक उदय कटुवालले जानकारी दिए । प्रति केजी २ रुपैया नाफा राखेर दाना बिक्री गर्दै आएको र एक बोरा दानामा ७५ रुपैँया मात्रै नाफा संस्थाले लिने गरेको छ । व्यवसायिक किसान नहुँदा दाना विक्रीमा समस्या भएको उनको भनाई छ । संस्थाले दाना दोलखा र रामेछापका कुखुरापालक किसानमाझ बिक्री गर्दै आएको छ । कतिपय ठुला उद्योगले लागत भन्दा पनि सस्तो मूल्यमा दाना बिक्री गर्दा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको अनुभव छ । ठुला उद्योगहरुले बोरामा ४,५ सय रुपैयासम्म सस्तो गरेर दाना बिक्री गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको उनले सुनाए । ठुला उद्योगले तराईको बजारमा महँगोमा बेच्ने र यता भएको घाटा उताबाट पूर्ति गर्ने गरेको उनले जनाए । ठुला उद्योगले ठुलो मात्रामा दाना उत्पादन गर्ने हुँदा साना उद्योगलाई प्रतिस्पर्धा गर्न समस्या भएको उनको बुझाई छ । सहकारीमार्फत् स्थापना भएको दाना उद्योगको प्रवद्र्धनमा राज्यले सहयोग गर्नु पर्ने उनको माग छ । कुल सदस्य मध्ये ६० प्रतिशत सदस्य काठमाडौंमा बस्ने गरेको र ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसाय गर्ने सदस्यहरु न्युन हुँदै गएको उनको भनाई छ ।
संस्थाले उत्पादन गरेको दाना गुणस्तरिय रहको र यसको प्रयोगबाट सदस्यले राम्रो लाभ लिन सक्ने कटुवाल बताउँछन् । संस्थाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुका साथै चल्ला ल्याईदिने, दाना उपलब्ध गराउने र उत्पादित कुखुराको बजारीकरण गरिदिने भन्दा पनि व्यवसाय गर्न कोही तयार नभएको उनले सुनाए । सदस्यलाई व्यवसायिक बनाउन मकै तथा गहुँ उत्पादन वृद्धि गर्ने संस्थाको योजना भए पनि सदस्यहरु कृषिमा आकर्षित नभएको उनको बुझाई छ । ‘यहाँको पैसा बाहिर नजाओस् हो भन्ने संस्थाको ध्येय हो, तर व्यवसायिक रुपमा कृषि गर्न चाहने सदस्यहरु कम छन् ’ उनले भने , एक सदस्यलाई व्यवसायी बनाउन सके दाना खपत पनि बढ्ने र स्थानीयस्तरमा नै रोजगारी सृजना हुने उनको विश्वास छ । सहकारीमार्फत् सेलर मिल स्थापना गरी चामल उत्पादन र तोरी मिल सञ्चालन गर्ने संस्थाको योजना छ । संस्थामा ७ हजा ३ सय ३६ सदस्य, ५८ संस्था समुह र २८४८ बाल सदस्य आवद्ध रहेका छन् । गत माघ मसान्तसम्म संस्थाको शेयरपुँजी ३ करोड ५३ लाख ८१ हजार, जगेडा कोष २ करोड ५६ लाख, अन्य कोषहरु ६२ लाख ३० हजार र बचत संकलन ३५ करोड २५ लाख ३३ हजार रहेको छ । त्यसैगरी संस्थाले ३६ करोड ६८ लाख ६४ हजार रुपैया सदस्यमाझ ऋण लगानी गरी कुल कारोबार ४५ करोड ५ लाख पुर्याएको छ ।