अब भारतबाट सिधै नेपालको बैंक खातामा पैसा पठाउन मिल्ने

काठमाडौं । नेपाल राष्ट बैंकले इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्कीम अन्तर्गत शुक्रबार एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको सम्झौताअनुसार नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग ( इ बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग र क्यूआर कोडमार्फत् राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी पैसा पठाउने सक्नेछन् । यस्तै, नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्यूआर कोडामार्फत् राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार र प्रतिमहिना एक लाख रुपैयाँ भारतीय रुपैयाँ जम्मा हुने गरी पारिश्रमिक बापतको सटही प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सकिनेछ । यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरू र सोका निराकरण,न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नु परिपत्रमा उल्लेख छ । क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो । क्रसबोर्डर भुक्तानी सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) बीच गत जेठमा सम्झौता भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *